नेपाल शिक्षक संघ गण्डकीको तालिम सम्पन्न

शिक्षा सञ्चार संवाददाता  |  १५ श्रावण २०७७, बिहीबार  |    245  Views

पोखरा– वर्तमान परिवेशमा प्रविधिको महत्वलाई शिक्षा क्षेत्रमा लागूगर्न शिक्षकको क्षमता विकासको आवश्यकता महशुष गरेर नेपाल शिक्षक संघ गण्डकी प्रदेशले आईसिटी तालिमको सफलता पूर्वक समापन गरिएको छ । अनलाईन मार्फत सञ्चालित तालिममा देशैभरका शिक्षकसंघ आवद्ध शिक्षकहरु जोडिएको जानकारी गराईएको थियो । सम्बोधनका क्रममा पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीले यस तालिम राष्ट्रिय आवश्यकता रहेको यसको लागि गण्डकी प्रदेश समितिलाई धन्यवाद व्यक्त गरेका थिए । सम्बोधन कै क्रममा नेता केसीले स्वयंसेवक शिक्षकको र राष्ट्रपति शिक्षा सुधारको नाममा पार्टीका कार्यकर्ता पाल्ने र राज्यकोष दोहन गर्ने कार्यको विरोध गर्नुपर्ने भन्दै निदाएको सरकारको आशा नगरी समग्र शिक्षकहरु र यसको नेतृत्वको रुपमा नेपाल शिक्षक संघ अगाडि बढ्नुपर्ने जसमा नेपाली कांग्रेस र आम नेपालीले साथ दिने विचार व्यक्त गरेका थिए । तालिममा सिकेका सीपहरु कक्षाकोठा सम्म पुग्न सकोस भन्ने शुभकामना नेता केसीको थियो । साथै आईसिटीलाई शिक्षकको संरचनामा मात्र नभएर पार्टीको हरेक संरचना सम्म पुर्याउनु पर्ने, जसका लागि आफूले आवाज उठाइरहेको नेता केसीको भनाई थियो ।


तालिम समापन मा सम्बोधन गर्दै संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले अबको बाटो शिक्षकहरु प्राविधिक क्षमता संगसंगै अगाडी बढ्नुपर्ने भन्दै निदायको सरकारले शिक्षा र शिक्षकलार्ई जबर्जस्ति धकेल्न खोजेको त्यसैले अब चैत्र सम्ममा प्रोजेक्ट वर्क मार्फत विद्यार्थी मूल्यांकन गरेर भएपनि विद्यार्थीको एकवर्षको महत्वपूर्ण समयलाई खेर जान नदिने विचार व्यक्त गरेका थिए । पञ्चायत कालिन शिक्षा ऐन बाट शासित शिक्षकहरु फेरि १७ थरीबाट तीनथरी थपिएर २० थरी बनाएर झन् अस्तव्यस्त शिक्षा क्षेत्र बनाएको छ भन्दै गैरजिम्मेवार सरकारले अब केही गर्न सक्दैन भन्ने निष्कर्षका साथ शिक्षामा सुधार राष्ट्रिय अभियान आन्दोलनको सुरुवात थालिएको घोषणा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक संघका महासचिव सोमनाथ गिरीले शिक्षा सुधार राष्ट्रिय अभियान नेपाल शिक्षक संघले सुरु गर्न लागेको सन्दर्भमा त्यसको तयारी स्वरुप संघको हरेक तहमा प्राविधिक समिति गठन गर्न लागिएको जानकारी गराएका थिए । त्यसैगरि शिक्षा क्षेत्रमा लामो समय बिताएका पूर्व निर्देशक बाबुराम पौडेलले शिक्षक मुटु हो जुन निरन्तर चलिरहन्छ भन्दै मुटु नचलेपछि शरीर चल्दैन त्यसैले विचार र संगठनमा नेपाल शिक्षक सङ्घ एकमात्र विकल्प रहेको जसले मुटुको काम गरिरहेको विचार व्यक्त गरेका थिए । गणित विषयका विज्ञ एवं गणित पुस्तक लेखक दयाराम सिंखडाले सरकार शिक्षक तालिम र वर्तमान समयमा हौसला भन्दा समस्या सिर्जना गर्न लागेको अवस्थामा नेपाल शिक्षक संघले गण्डकी प्रदेशमार्फत गरेको तालिमको प्रशंसा व्यक्त गरेका थिए ।


समापन कार्यक्रम नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछानेको अध्यक्षता र पूर्वशिक्षामन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नेहरुमा संघीय अध्यक्ष राजेन्द्र राज पौडेल, वरिष्ठ उपाध्यक्ष एनपी भुसाल, महासचिव सोमनाथ गिरी लगायत केन्द्रिय एवं विभिन्न जिल्लाका जिल्ला अध्यक्ष, शिक्षाविद्, सहभागी एवं प्रशिक्षकहरू रहेका थिए । प्रशिक्षकहरुको तर्फबाट बोल्दै श्रीकृष्ण आचार्यले अब शिक्षकहरूको क्षमता विकासका लागि अनलाइन मात्र हैन अफलाईनको लागि सफ्टवेयर विकास भएको जस मार्फत सम्पूर्ण शिक्षकहरुले आफ्नो प्राविधिक क्षमता विकास गरी शिक्षाको समग्र सुधारमा अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *