शिक्षाजगतमा सरस्वतीको महिमा

शिक्षा सञ्चार संवाददाता  |  १६ माघ २०७६, बिहीबार  |    1236  Views

विद्याकी देवी सरस्वतीको महिमा अपरम्पार छ । ज्ञानको दिव्यज्योति प्रज्ज्वलित गराई संसारको सागरबाट पार लगाउने आद्य शक्ति सरस्वती हुन् । समस्त कला जगत्की प्रतिमूर्ति, ज्ञानकी खानी सरस्वतीलाई विद्याकी देवी भनिन्छ ।

आद्य शक्ति भगवतीको उपासना वेदमा पनि गरिएको पाइन्छ । सबै ज्ञानका साधक सरस्वतीका उपासक हुन् । सरस्वतीको कृपाविना ज्ञानका चक्षु खुल्नु असम्भव छ । परब्रह्म नै सरस्वतीलाई भनिएको छ । आद्य शक्ति भगवतीका  कर्मअनुसार भिन्नभिन्न रूप हुने गर्छन् ।

संहार गर्न महाकाली, पालन गर्न महालक्ष्मी र ज्ञानको दीप बाल्न महासरस्वतीको स्वरूप प्रकट भएको हो । सरस्वतीको विशेष उपासना माघ शुक्ल पञ्चमीका दिन हुने गर्छ । श्रीपञ्चमी माघ शुक्ल पञ्चमीका दिन पर्ने गर्छ । चान्द्रमासको माघशुक्ल पञ्चमीलाई नै श्रीपञ्चमी वा वसन्त पञ्चमी भनिन्छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने विशेष दिनका रूपमा पनि यो दिन प्रसिद्ध छ । वसन्त ऋतु आगमनको पूर्वाभाष स्वरूप यस दिन वसन्त महिमा गायन एवं श्रवण गर्ने गरिन्छ  । विद्याकी देवी भगवती सरस्वतीको विशेष प्रिय दिन रहेकाले पनि वसन्त पञ्चमीलाई भव्यरूपमा मनाइएको हो । यस दिन विद्या आरम्भ, नाक कान छेड्नुका साथै  विद्यासँग सम्बन्धित कार्यको आरम्भ गर्न उत्तम हुने ज्योतिष शास्त्रमा पनि वर्णन भएको पाइन्छ ।

संसार ज्ञानकै आँगनमा अडिएको हुनाले ज्ञान अर्थात् विद्याका उपासक सबैले यस दिन सरस्वतीको विशेष पूजा आराधना गर्ने गर्छन् । यो परम्परा वेदभन्दा पनि पुरानो रहेको देखिन्छ ।

सरस्वतीको महिमा वेदले पनि सर्वत्र गाएको पाइन्छ । सरस्वती श्रुति महति महीयताम्  सरस्वती श्रुति अर्थात् वेदभन्दा पनि महान् छिन्, सरस्वती नः सुभगा मयस्करत् अर्थात् सरस्वतीले हाम्रो यश कीर्तिलाई बढाउन् भन्ने वैदिक ऋचाबाट पनि सरस्वतीको महिमा कति छ भन्ने स्पष्ट हुन्छ । उपनिषद्, पुराण, देवीभागवत आदिले पनि भगवती सरस्वतीको विशेष महिमा गान गरेका छन् ।

यर्सैगरी आद्यशक्ति भगवतीका तीनरूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्येकी एक सरस्वतीको महिमा अपरम्पार रहेको छ ।

सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन् भनी मार्कण्डेय पुराणले वर्णन गरेको छ ।

माघ शुक्ल पञ्चमीका दिन शुद्ध स्नान पूर्वक भगवती सरस्वतीको मन्दिर गई विधिपूर्वक सरस्वतीको पूजा आराधना गरिन्छ । यस दिन भगवतीको षोडशोपचारले विशेष पूजा हुने गर्छ  ।

पूजापश्चात् भगवतीप्रति विद्याको वरदन माग्न स्तुति प्रार्थना गर्नुका साथै आआफ्ना कलाको प्रदर्शनी एवं अभ्यास गरिन्छ । संगीतका पारखीहरू यस दिन वसन्त रागको गान गर्ने गर्छन् ।  सरस्वतीको पूजा गर्नु भनेको विद्याको उपासना गर्नु हो । सरस्वती केवल पुष्प, चन्दन, अक्षताले मात्र खुशी हुन्नन् ।

जसले विद्याको साधना गर्छ उसैका मुखमा सरस्वतीको वास हुन्छ ।
सरस्वती आद्य शक्ति हुन् । उनका अवतार, रूप अनेक छन् । महाकाली, महालक्ष्मी र माहासरस्वती वास्तवमा एउटै आद्य शक्तिका  स्वरूपहरू हुन् । अर्थार्थीले महालक्ष्मीको उपासना गर्छन् ।

शक्तिका उपासकले महाकालीको आराधना गर्छन् भने ज्ञानका उपासक सरस्वतीको आराधना गर्ने गर्छन् । समस्त विद्या र कलाकी देवी सरस्वती हुन् ।  सरस्वतीलाई कसैले ब्रह्माकी पुत्री र कसैले ब्रह्माकी पत्नी भन्ने गर्छन् । सरस्वतीका अनेक रूप छन् । कार्यअनुसार सरस्वतीका अनेक अवतार भएका हुन् ।

उनलाई आद्यस्वरूपाको रूपमा बुझ्नु नै उपयुक्त हुन्छ । वास्तवमा सरस्वती आद्य शक्ति ब्राह्मी नै हुन् ।  साक्षात् ब्रह्म स्वरूपा भएकाले उनलाई ब्राह्मी भनिएको हो । आद्य शक्ति स्वयं परमात्मा परमेश्वर हुन् । ब्राह्मी सरस्वतीका सात भेद मानिएका छन् ।

चिन्तमणि सरस्वती, ज्ञान सरस्वती, नीलसरस्वती, महासरस्वती, किनि सरस्वती, अन्तरिक्ष सरस्वती र घट सरस्वती । कार्य अनुसार भिन्नभिन्न सरस्वतीको आराधना गर्ने गरिन्छ । शारदा सरस्वतीका पाँच भेद छन् जसअन्तर्गत वाणी सरस्वती, वागिश्वरी सरस्वती, वाचासरस्वती, वाक्प्रदा सरस्वती र पारिजात सरस्वती ।

यसैगरी महासरस्वतीका पनि अनेक भेद पाइन्छन् सन्ध्या सरस्वती, अनिरुद्ध सरस्वती आदि । ज्ञानका उपासकले  आराधना गर्ने सरस्वती महासरस्वती हुन् । उनको महिमा वेद, उपनिषद, पुराण आदिले गान गरेका छन्  । सरस्वतीका अनेक नाम भए पनि बाह्रवटा विशेष मानिन्छन् ।

प्रथमं भारतीनाम द्वितीयं च सरस्वती । तृतीयं शारदादेवी चतुर्थं हंसवाहिनी । पञ्चमं तु जगन्माता षष्ठं कात्यायनीति च । सप्तमं चैवकौमारी अष्टमं वरदायिनी । नवमं बुद्धिधात्री च दशमं ब्रह्मचारिणी । एकादशं चन्द्रघण्टा च द्वादशं भुवनेश्वरी । द्वादशै तानि नामानि त्रिसन्ध्यं यो पठेन्नरः । जीह्वाग्रे वसति तस्य ब्रह्मरूपा सरस्वती ।।

अर्थात् भारती, सरस्वती, शारदा, हंसवाहिनी, जगन्माता, कात्यायनी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, भुवनेश्वरी गरी सरस्वतीका बाह्र नाम प्रसिद्ध छन् । जसले यी नामको प्रातः, दिवा र सन्ध्यामा पाठ गर्छ उसका मुखमा सरस्वतीको वास हुन्छ भन्ने सरस्वती महिमामा बताइएको पाइन्छ ।

सरस्वतीको स्वरूप शुक्ल अर्थात् सेतो वर्णको छ । ज्ञानका माध्यमले जगत्मा व्याप्त भएकी सरस्वतीको वाहन हाँस हो । उनका चार हात रहेका छन् ।  हातमा वीणा र पुस्तक धारण गरेकी छिन् ।

यसैगरी अक्षमाला पनि सरस्वतीका करमा विराजमान रहेको छ । यसरी सरस्वतीले हातमा लिएका हरेक वस्तुको आआफ्नै महिमा रहेको छ ।

हाँस विवेकको प्रतीक हो । हाँसमा दूध र पानी छुट्याउने विवेक रहेको हुन्छ । यसैगरी वीणा नादको प्रतीक हो । संगीत विधाको प्रतिनिधित्व वीणाले गरेको छ । सेतो कमलको फूलमाथि विराजमान सरस्वतीको हातमा रहेको वेदले पुस्तकको प्रतिनिधित्व गर्छ ।

अक्षमालाले चिन्तनशील रहने प्रेरणा प्रदान गर्छ । सेता वस्तु शुद्धता एवं पवित्रताको प्रतीक हो ।
सरस्वतीलाई ब्रह्मा, विष्णु र महेश्वरले पनि आराधना गरेको कथा प्रसङ्ग पाइन्छ ।
या कुन्देन्दुतुषरहारधवला या शुभ्रवस्त्रावृता । या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना । या ब्रह्माच्युतशङ्करप्रभितिभिर्देवैसदा वन्दिता । सा मां पातु सरस्वती भगवती निः शेषजाढ्यापहा ।।
अर्थात् श्वेत कमलमा विराजमान, चन्द्रमा जस्तै स्वच्छ स्फटिकको माला गलामा सुशोभित भएकी, स्वच्छ सेतो वस्त्रले वेष्टित वरदमुद्रायुक्त वीणाधारी सरस्वती सेतो कमलको फूलमा विराजमान हुनुहुन्छ ।

जसलाई ब्रह्मा, विष्णु, शङ्करआदि गरिएका देवताले पनि विशेष वन्दना गर्छन् । यस्ती भगवती सरस्वततीले हाम्रो जड अन्धकाररूपी अज्ञानलाई हटाउनुहोस् भनी गरिएको प्रार्थनाबाट पनि उक्त कुराको पुष्टि हुन आउँछ ।

परिश्रम र मेहनत नै सरस्वतीको अर्को नाम हो । भगवतीको पूजा आराधना भनेको नै विद्याको चिन्तन, अध्ययन, मनन र अभ्यास हो । भगवतीको मन्दिरमा गई पूजा गर्नु भनेको अध्ययनतर्फ रुचि जगाउन मनलाई प्रेरित गर्नु हो अर्थात् पवित्र पार्नु हो । जबसम्म हाम्रो मन पवित्र हुनसक्दैन तबसम्म हामी केही पनि गर्न सक्दैनौ ।

अतः वसन्त पञ्चमीका दिन भगवतीको विशेष पूजा आराधना गरी मनलाई शुद्ध बनाउने यत्न गरिन्छ । पवित्र मनले गरेको चिन्तन नै सार्थक हुने भएकाले सरस्वती पवित्रताकी पनि प्रतीक हुन् । उनको आराधनाले जीवन सार्थक हुने गर्छ । यही नै सरस्वतीको सच्चा पूजा आराधना हो ।

नारायणप्रसाद निरौला , उपप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *