विद्यालयमा द्वन्द्व व्यवस्थापन र समाधानका उपायहरु

शिक्षा सञ्चार संवाददाता  |  २९ चैत्र २०७६, शनिबार  |    1636  Views

विद्यालयमा द्वन्द्व व्यवस्थापन

दुई फरक–फरक विचारहरु बीचको संघर्षलाई द्वन्द्व भनिन्छ ।  व्यक्ति–व्यक्ति र समूहका बीचमा हुने फरक सोचाइ र असहमतिको कारणले द्वन्द्वको सृजना हुन्छ । कुनै संस्था वा संगठनको लक्ष्य र उक्त लक्ष्य प्राप्तिका विधि जस्ता कुराहरुमा देखिने असमझदारीको अवस्था नै द्वन्द्व हो । द्वन्द्वलाई नकारात्मक रुपमा मात्र हेर्नुभन्दा लक्ष्य प्राप्तिका लागि गरिएको द्वन्द्व सकारात्मक पनि हुनसक्छ भन्ने मान्यता राख्नु पर्दछ । द्वन्द्व बाह्यमात्र नभएर आन्तरिक पनि हुनसक्छ ।  एउटै व्यक्ति वा मनमा चल्ने द्वन्द्व आन्तरिक द्वन्द्व हो भने व्यक्ति–व्यक्ति बीचको द्वन्द बाह्य द्वन्द्व हो । द्वन्द एउटा व्यक्ति वा समूहले आफ्नो उद्देश्य वा स्वार्थपूर्ति गर्न लाग्दा अर्को व्यक्ति वा समूहसँग उद्देश्य वा स्वार्थ नमिल्दा उत्पन्न गरिन्छ । सबै किसिमका विरोध, विरोधी विचार, पारस्परिक विरोधाभास वा असहमति, मनमुटाव, झगडा जस्ता कुराहरु द्वन्द्व अन्तर्गत पर्दछन ।

 

द्वन्द्वका विषयमा Newstorm and Davis ले भनेका छन्ः  द्वन्द्व भनेको कुनै अवस्था हो जसमा दुई वा सोभन्दा बढी समूहहरु आफैंमा विरोध महसुस गर्दछन् । कुनै संगठनमा हुने द्वन्दले कार्यसम्पादनमा असर पार्दछ । द्वन्द्व जति बढी हुन्छ उति नै यसको प्रभाव कार्यसम्पादनमा देखिन्छ । जति कम द्वन्द्व भयो कार्यसम्पादनमा त्यति नै कम प्रभाव देखिन्छ । विद्यालयको कार्यसम्पादन अन्तर्गत शिक्षकको पठनपाठन शैलि र विद्यार्र्थीले प्राप्त गर्ने सिकाई उपलब्धिमा हेर्न सकिन्छ । उपयुक्त रूपमा शिक्षक र विद्यालय प्रशासनको कार्य सम्पादन भएमा मात्र गुणस्तरमा वृद्धि हुन्छ ।

 

 

द्वन्द्वका तहहरु विशेष गरी चार तहमा हुन्छन् । व्यक्तिभित्र हुने द्वन्द्व, अन्तर वैयक्तिक द्वन्द्व, अन्तर समुह द्वन्द्व र अन्तर संगठानात्मक द्वन्द्व । तर विद्यालयमा देखा पर्नसक्ने द्वन्द्वहरु निम्न रहन्छन्ः

  •     विद्यार्थी–विद्यार्थीहरु विच हुने द्वन्द्व
  •     विद्यार्थी– शिक्षकहरु विच हुने द्वन्द्व
  •     विद्यार्थी–प्रशासन विच हुने द्वन्द्व
  •     शिक्षक – शिक्षक विच हुने द्वन्द्व
  •     शिक्षक – प्रशासनबीच हुने द्वन्द
  •     विद्यालय–अभिभावक विच हुने द्वन्द्व
  •     विद्यालय प्रशासन – व्यवस्थापन विच हुने द्वन्द्व
  •     विद्यालय – समुदाय विच हुने द्वन्द्व
  •     हेपाई, पक्षपात, दमन, नकारात्मक सोचबाट उत्पन्न हुने द्वन्द्व ।

  विद्यालयमा द्वन्द्वका कारण/स्रोतहरू

       द्वन्द्व उत्पन्न हुने विविध कारणहरु हुन सक्छन् ।  विद्यालयमा स्रोतसाधनको अपर्याप्तता, स्रोतसाधनको अविवेकपूर्ण वितरण, अधिकारको अस्पष्टता, अभाव, कुण्ठा, ईष्र्या, विचार एवं संस्कार पद्धति, परिवर्तित मूल्य–मान्यता, व्यक्ति वा समूहहरुबीचको सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक स्वार्थ, दृष्टिकोण वा बुझाई आदिका कारण द्वन्द्व उत्पन्न हुन सक्छन् ।  विभिन्न दृष्टिकोणले द्वन्द्वको कारणलाई हेर्ने गरिन्छ । मनोविज्ञानका अनुसार द्वन्द्वको कारण व्यक्ति र समूहको उद्देश्यमा रहेको फरकपना हो भनेका छन् भने मानवशास्त्रीले द्वन्द्वको कारण सामाजिक संस्कारमा भएको विविधता भनेका छन् ।  राजनीतिज्ञले द्वन्द्वको कारण राजनैतिक विचारधारामा भएको फरकपना हो भनेका छन् भने अर्थशास्त्रीले आर्थिक स्रोतको असमान वितरण हो भनेका छन् ।  नेपालको परिवेशमा विविधता (भाषा, धर्म, जाति, लिंग) पनि द्वन्द्वको कारण बन्नसक्छ । विद्यालयमा द्वन्द सिर्जना हुने मुख्य दुई कारणहरुलाई लिन सकिन्छः

अन्तरवैयक्तिक द्वन्दका कारणहरु

विद्यालयमा निम्न कारणहरुले व्यक्ति–व्यक्तिबीच द्वन्द्व हुनसक्छः

  •  व्यक्तिगत विभिन्नता– हरेक व्यक्तिमा व्यक्तिगत विभिन्नता हुने हुँदा उनीहरूको विचार, धारणा व्यक्तित्व, रुचिमा फरकपन पाइन्छ जसले द्वन्द्व निम्त्याउँछ ।
  •  सञ्चारमा समस्या – अपूर्ण सूचना, गलत सूचना, असमझदारीले द्वन्द्व निम्त्याउँछ ।
  •  लक्ष्यमा विभिन्नता – एउटै विद्यालय भित्रका प्रत्येक शिक्षकहरु एवं व्यवस्थापकका लक्ष्य फरक हुँदा द्वन्द्व सिर्जना हुनसक्छ ।
  •  अमिल्दो भूमिका – संगठनमा रहेका ब्यक्तिले खेल्नुपर्ने भूमिका एक अर्कामा अन्तरसम्बन्धित नहुन सक्छन् जसले द्वन्द्व निम्त्याउँछ ।
  •  विश्वासको कमी – विद्यालयका शिक्षक, कर्मचारी, प्रशासन, विद्यालय समितिहरु विच विश्वास नहुँदा द्वन्द्व सिर्जना हुनसक्छ ।
  •  लैङ्गिक उत्पिडन– विद्यालयमा हुने लैङ्गिक विभेद, यौनजन्य उत्पीडनबाट द्वन्द्व उत्पन्न हुन सक्छ ।
  •  संगठनात्मक परिवर्तन– विद्यालयको संगठानात्मक ढाँचामा परिवर्तन हुँदा काम गर्ने व्यक्ति र वातावरणमा पनि परिवर्तन हुन सक्दछ जसले द्वन्द्व निम्त्याउन सक्छ ।
  • वातावरणीय तनाव –कामको असुरक्षा, नकारात्मक अनावश्यक दबाब, कम सेवा सुविधा, पहुँच पहुँचवालाको मात्र सुविधा, कार्य गर्ने र गराउने शैलीमा असक्षमता, कार्यको उचित मूल्यांकन नहुनु आदि कारणले पनि विद्यालयमा द्वन्द्व उत्पन्न हुन सक्दछ ।

 

 

समूह द्वन्दका कारणहरु

समूहभित्र हुने द्वन्दका कारण एवं स्रोतहरू निम्नअनुसार हुनसक्छन्ः

  •  स्रोत साधनका लागि प्रतिस्पर्धा– विद्यालय वा अन्य कुनै संगठनमा स्रोत साधनहरु सिमित हुन्छ । यस्ता साधनहरू प्राप्तिका लागि प्रतिस्पर्धा गर्दा द्वन्द्व उत्पन्न हुन्छ ।
  •  कार्यसंग सम्बन्धित तत्वहरु– संगठनभित्र विभिन्न शाखाहरु समूहहरू हुनसक्छन्  र उनीहरुले गर्ने काम एक अर्कामा अन्तरसम्बन्धित हुन्छन् तर हरेक समूहका स्वार्थहरु फरक हुने हुँदा द्वन्द्व सिर्जना हुन जान्छ ।
  •  प्रतिष्ठाका लागि सङ्घर्ष– संगठनमा रहेका समूहहरुबीच प्रतिष्ठा प्राप्तिका लागि हानथाप हुन जाँदा एक आपसमा द्वन्द्वको सिर्जना हुन जान्छ ।
  •  पुरस्कार पद्धति– विद्यालयका शिक्षकहरुको बीचमा पुरस्कारको व्यवस्था गर्ने तर कुनै मुल्यांकन पद्धतिको व्यवस्था नगरी हचुवामा निर्णय गरी पुरस्कार दिँदा द्वन्द्व सिर्जना हुन्छ । कुनै सूचक बनाएर स्वस्थ प्रतिस्पर्धा गरेमा यस्ता द्वन्द्वहरु न्यूनीकरण गर्न सकिन्छ ।
  • संगठनात्मक वातावरण– संगठनको पुरानो संरचनालाई परिवर्तन गरी नयाँ संरचना तयार गर्दा वातावरण केही खलबल हुनसक्छ, त्यसले पनि द्वन्द सिर्जना हुनसक्छ ।

               यसरी द्वन्दका विविध कारणहरु हुन्छन् । उनीहरुलाई उचित तरिकाले समयमा नै व्यवस्थापन गर्नुपर्ने हुन्छ यदि द्वन्द्वलाई उचित समयमा व्यवस्थापन गर्न सकेमा विद्यालयमा कार्यसम्पादन चुस्तदुरुस्त तरिकाले अगाडि वढाउन सकिन्छ, फलस्वरूप गुणस्तरीय शिक्षाको परिकल्पना साकार हुन्छ ।

 द्वन्द व्यवस्थापनका तरिका एवं उपायहरु

       विद्यालयमा विभिन्न खालका द्वन्द्वहरु देखापर्न सक्छन् ।  यस्ता द्वन्द्वहरु संगठनमा आउने एक स्वाभाविक प्रक्रिया हुन् र यसलाई प्रभावकारी रुपले व्यवस्थापन गर्नुपर्दछ । शैक्षिक संस्थामा देखापरेको द्वन्द्व कस्तो प्रकारको हो त्यसको उचित छलफल गरेर समाधान गर्नुपर्दछ । द्वन्द्व व्यवस्थापन गर्दा दबाउने भन्दा पनि सामूहिक हित हुनेगरी सहकार्य, सम्झौता गर्नु उपयुक्त उपाय हुन्छ ।  द्वन्द्व व्यवस्थापनका लागि निम्न उपायहरु अपनाउन सकिन्छः

प्रतिस्पर्धात्मक शैली– शक्तिशाली पक्षले कमजोर पक्षलाई बलपूर्वक दमन गरेर द्वन्द्व समाधान गर्ने ।

सहकार्य मुलक शैली– सबै पक्ष र पात्रलाई फाइदा हुने गरी आपसमा सहकार्य गरी द्वन्द्वको समाधान गर्ने ।

सम्झौता गर्ने–  दुवै पक्षले एक ठाउँमा केही त्याग्ने र केही पाउने गरी वा धष्ल धष्ल हुनेगरी द्वन्द्वको व्यवस्थापन गर्ने ।

इन्कार मूलक शैली – आधारहिन द्वन्द्वलाई इन्कार गरि त्यसबाट उम्कने र द्वन्द्व समाधान गर्ने ।

समायोजन मुलक शैली– बढाउनुभन्दा अर्को पक्षलाई सन्तुष्टी दिएर समाधान गर्ने शैली ।

             Kenneth W. Thomas and Ralph H. Kilmah ले द्वन्द्व व्यवस्थापनका लागि निम्न ५ उपायहरु अपनाउनुपर्ने बताएका छन् ः समायोजन, त्याग्ने वा हटाउन,े सहयोग गर्ने, प्रतिस्पर्र्धी बनाउने  र समझदारी कायम गर्ने ।

द्वन्द्वका सकारात्मक र नकारात्मक पक्षहरू

सकारात्मक पक्षहरु   नकारात्मक पक्षहरू
  1.  सिर्जनशीलता र अन्वेषण शीलता बढ्ने,
  2.     समस्या पहिचान भई समाधानमा सहयोग हुने,
  3.     नेतृत्व क्षमता र प्रभावकारितामा वृद्धि हुने,
  4.     प्रतिस्पर्धा भई निर्धारित उद्देश्य पूरा हुने,
  5.     साझेदारी तथा समन्वय विकास हुन,े
  6.     व्यवस्थापनमा अपनत्वको विकास हुन,े
  7.     पारदर्र्शीता बढ्न जान्छ,
  8.     शिक्षक र विद्यार्र्थी परिश्रममा अग्रसर हुन,े
  9.     सिर्जनशीलता र नवप्रवर्तन लाई प्रोत्साहन,
  10.     सरोकारवालाको अस्पष्टतालाई निराकरण हुने,
  11.     सवालहरु प्रति मानिसको दृष्टिकोण थाहा हुने ।
  1.  शिक्षक कर्मचारी प्रशासन र व्यवस्थापनबीच मनमुटाव बड्ने,
  2.  व्यक्तिगत स्वार्थ र हितले प्रश्रय पाउने,
  3.  कार्य प्रति उदासिनता बढ्दै जाने,
  4.  खिचातानी, वैमनस्यता, मनमुटाव र तछाडमछाडको स्थिती ल्याउँछ,
  5.  स्वस्थ कार्यवातावरणको अभाव हुन,े
  6.  समस्याबाट भाग्ने प्रवृत्ति बढ्ने,
  7.  अपेक्षित सिकाइ उपलब्धिमा कठिनाइ हुने,
  8.  आपसी सामञ्जस्यतामा कमी ल्याउँछ,
  9.  सूचनाको दोहोरो सम्प्रेषण हुने,
  10.  प्रतिभा पलायन हुने,
  11.  प्रत्येक कार्य शंकाको घेरामा हुने ।

विद्यालयमा द्वन्द्व समाधानका उपायहरु

                 विद्यालयमा देखापरेका द्वन्द्वको समयमा नै निराकरण गर्न आवश्यक हुन्छ । यदि समयमा नै द्वन्द्वको निराकरण गर्न सकिएन भने यसले विद्यालय, कक्षाकोठामा हुने शिक्षण सिकाइ क्रियाकलाप लगायत सम्पूर्ण शिक्षा प्रणालीलाई नै ध्वस्त एवं धरासायी बनाउन सक्दछ ।  अतः विद्यालयको द्वन्द्व समयमा नै निराकरण गर्नु पर्दछ ।  विद्यालयमा हुने द्वन्द्व व्यवस्थापनका निम्न तरिकाहरु हुनसक्दछन्ः

  •   द्वन्द्वको कारण पहिचान गर्ने
  •  समस्याको पहिचान गरी समाधानमा विकल्पको खोजी गर्ने
  •  सकभर द्वन्द्व नै आउन नदिन प्रयास गर्ने
  •  आपसी संवाद, छलफल, अन्र्तरक्रियाको माध्यमबाट द्वन्द्वको समाधान गर्ने
  •   कार्यालयमा संचार प्रक्रियालाई प्रभावकारी बनाउने
  •   निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्ने
  •   हरेक तहका शिक्षक एवं कर्मचारीका कार्यविवरण, कर्तव्य, उत्तरदायित्व, स्पष्ट किसिमले परिभाषित गर्ने
  •   द्वन्द्व समाधानका लागि छलफल, समझदारी, सामूहिक सौदावाजी, सामुहिक पुरस्कारको नीति लिने
  •  नियम, कानुन, निश्चित सूचकको आधारमा पुरस्कार र दण्डको नीति लिने आदि ।

द्वन्द समाधानमा शिक्षकको भुमिका

        विद्यालयमा देखापर्ने द्वन्द्वको व्यवस्थापनमा शिक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।  शिक्षकले कक्षाकोठामा मात्र नभई विद्यालयमा हुने द्वन्द्वको पनि व्यवस्थापनमा सहयोगी भूमिका खेल्नु पर्दछ । एउटा असल शिक्षकले द्वन्द्व व्यवस्थापनको लागि खेल्नु पर्ने भूमिकालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः

 कक्षाकोठा भित्रका द्वन्द्व व्यवस्थापनका उपायहरु

  •  कक्षाकोठाका समस्याहरुको पहिचान गरी समाधान गर्ने
  •  विभिन्न वर्गका विद्यार्थीहरु बीच मनोबैज्ञानीक विभेद हटाउने
  •  विद्यार्थीहरूको जिम्मेवारी बाँडफाँडमा सन्तुलित व्यवहार प्रदर्शन गर्ने
  •  क्षमता अनुसारको सिकाइलाई प्राथमिकता दिने
  •  सबै विद्यार्थीलाई समान महत्व दिने
  •  विद्यार्थीहरुमा भएको विविधतालाई सम्मान गर्ने
  • विद्यालयमा विद्यमान द्वन्द्व व्यवस्थापन गर्ने उपायहरु
  •  नियमको कडाइका साथ पालन गर्ने गराउने
  •  सबैलाई आफ्नो कर्तब्य र अधिकार प्रति सजग गराउने
  •  हरेक शिक्षकको कार्यलाई जिम्मेवारी, पारदर्र्शी र न्यायपूर्ण बनाउने
  •  निर्णय प्रक्रियामा विद्यालयका सरोकारवालाहरूको सहभागिता गराउने
  •  विद्यालयका हरेक कार्यलाई पारदर्र्शी बनाउने
  •  प्राप्त अवसरलाई निश्चित नीति वा मापदण्ड बनाएर वितरण गर्ने
  •  गुनासो सुन्ने संयन्त्रको विकास गरी यसलाई सक्रिय बनाउने
  •  शिक्षक, अविभावक, कर्मचारीबीच नियमित अन्तरक्रिया गर्ने
  •  विद्यालयमा विद्यमान द्वन्द्वका कारण पहिचान गरी समाधान गर्ने
  •  तल्लो तहको द्वन्द्वलाई माथिल्लो तहबाट व्यवस्थापन गर्ने
  •  पारदर्र्शीता र सुशासनका मान्यताहरु अवलम्बन गर्ने गराउने
  •  सञ्चार प्रणालीलाई प्रभावकारी र व्यवस्थित बनाउने आदि ।

         विद्यालयका कक्षाकोठा भित्र भएका द्वन्द्व समाधान गर्ने प्रमुख जिम्मेवारी शिक्षकको हो ।  शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका क्रममा आइपर्ने विविध खालका द्वन्द्वलाई समाधान गर्ने कार्य सकेसम्म शिक्षकले स्वयं गर्नुपर्दछ ।  विद्यालयमा सिर्जित विविध खालका द्वन्द्व व्यवस्थापनका लागि पनि शिक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । अभिभावक लगायत अन्य सरोकारवालाहरुलाई बिबिध बिषयहरुमा आधारित रही छलफल, सहकार्य, समन्वय, सञ्चार गर्ने कार्यमा शिक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । समाजमा समेत शिक्षक ले नमुना बनेर व्यवहार प्रदर्शन गर्नुपर्ने हुन्छ ।  अतः समाजमा रहेको विविधता व्यवस्थापन, अभिभावकहरु बीचमा रहेका असमझदारी, विद्यालयका बारेमा प्रभावकारी सञ्चार, छलफल जस्ता कार्यका माध्यमबाट शिक्षकले द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् ।

 

 सन्दर्भ सामग्री

उपाध्याय, गोकर्णप्रसाद, र अरु (२०७७), दिपमाला पब्लिकेशन प्रा. लि., काठमाडौँ, नेपाल ।

खतिवडा, प्रदिप, पौडेल, गोविन्दप्रसाद (२०७७) करुधारा पब्लिकेशन प्रा. लि., काठमाडौँ, नेपाल ।

शर्मा, महाश्रम (२०७३), गुडविल पब्लिकेशन, काठमाडौँ नेपाल ।

अधिकारी, तोयानाथ (२०७५), आदित्य बुक्स एण्ड डिष्ट्रिब्युटर्स, काठमाडौँ, नेपाल ।

2 Comments


    Warning: call_user_func() expects parameter 1 to be a valid callback, function 'athemes_comment' not found or invalid function name in /home/teducationsanvin/public_html/wp-includes/class-walker-comment.php on line 179

    Warning: call_user_func() expects parameter 1 to be a valid callback, function 'athemes_comment' not found or invalid function name in /home/teducationsanvin/public_html/wp-includes/class-walker-comment.php on line 179

Leave a Reply

Your email address will not be published. Required fields are marked *