कक्षा ६ बाट सामुदायिक विद्यालय नपढ्नेले सरकारी छात्रवृत्ति नपाउने

शिक्षा सञ्चार संवाददाता  |  ५ माघ २०७६, आईतवार  |    573  Views

काठमाडौं – नेपाल सरकारले कक्षा ६ देखि सरकारी स्कुल पढेका विद्यार्थीले मात्रै उच्च शिक्षा अध्ययनमा छात्रवृत्तिको अवसर पाउने ब्यवस्था गरेको छ । यसअघि माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेपछि छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाइन्थ्यो । अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले छात्रवृत्ति पाउन ६ कक्षादेखि नै सरकारीमा शिर्षकमा प्रकाशित खबर अनुसार शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको छ । यो विधेयक प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार सर्वसम्मत रूपमा पारित गरेको छ । ‘साना कक्षा निजी स्कुलमा पढेका विद्यार्थी छात्रवृत्तिका लागि मात्र माथिल्लो कक्षामा सरकारीमा पढ्ने प्रवृत्ति बढेको छ’, समिति सभापति जयपुरी घर्तीले भनिन, ‘यसलाई नियन्त्रण गर्न नयाँ व्यवस्था गरेका हौं।’उनका अनुसार अब साधारण परिवारसहित दलित, जनजाति, अल्पसंख्यक हरेक वर्गका नागरिक सरकारीमा नपढे छात्रवृत्तिका लागि योग्य हुनेछैनन् ।

नयाँ व्यवस्थाले सरकारी स्कुलमा विद्यार्थी आकर्षण बढ्ने सरकारको अनुमान छ । कक्षा ८ सम्म निजीमा पढेर छात्रवृत्तिका लागि ९ देखि सरकारीमा गई एसइई पनि त्यहींबाट उत्तीर्ण गर्ने लहर चलेको छ। तल्ला कक्षा निजीमा पढेर तुलनात्मक रूपमा बढी मेहनत र लगानी गरेका विद्यार्थीको सिकाइस्तर राम्रो हुने र छात्रवृत्तिसम्बन्धी प्रतिस्पर्धामा पनि उनीहरू अब्बल हुने गरेका कारण सरकारीका विद्यार्थी पछि पर्ने गरेका छन् ।

देशका उत्कृष्ट कहलिएका सरकारी स्कुलमा अझै तल्ला कक्षामा विद्यार्थी संख्या न्यून छ । माथिल्ला कक्षामा भने थेगिनसक्नु विद्यार्थी भर्ना हुने गरेका छन्। छात्रवृत्तिमा पढ्नकै लागि हरेक वर्ष तल्ला कक्षामा पढ्ने विद्यार्थीभन्दा कक्षा ९ मा भर्ना हुने प्रचलन रहेको छ । जसका कारण विद्यालयहरुलाई कक्षा एवं शिक्षक ब्यवस्थापनमा समस्या हुनेगरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *