नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा सम्मानित

शिक्षा सञ्चार संवाददाता  |  २३ माघ २०७७, शुक्रबार  |    325  Views

तनहुं – नेपाल रेडक्रस सोसाइटी तनहुंको ३८ औं जिल्ला वार्षिक साधारण सभा सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष कृष्णहरि वाग्लेको सभापतित्वमा सम्पन्न सभामा ब्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, रेडक्रस केन्द्रीय सदस्य प्रदिप घिमिरे, जिल्ला पदाधिकारीहरू, पत्रकार एवं उपशाखाबाट छनौट भई आएका रेडक्रस सभासदहरूको उपस्थिति रहेको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख वाग्लेले स्थानीयस्तरको उपशाखाले गर्ने कार्यहरुले जिल्ला रेडक्रस एवम् केन्द्रीय समितिलाई समेत मूल्याङ्कन गर्ने भएकाले सकारात्मक कार्य र कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

सभामा जिल्ला भित्रका उपशाखाहरू मध्ये उत्कृष्ट कार्य गर्ने उपशाखाका रुपमा दुम्सीकोट उपशाखा सम्मानित भएको थियो जसले covid-19 को समयमा राहत संकलन एवं वितरण तथा स्तरीय एम्बुलेन्स संचालन अभियान कार्य गरेको थियो । साथै रेडक्रसमा लागेर लामो समय योगदान गरेबापत श्री गोपाल भण्डारीलाई सम्मानित गरिएको थियो।
उद्घाटन पश्चात बन्दसत्र को क्रममा कोषाध्यक्ष हरिशरण पण्डितद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र मन्त्री चिनु पोखरेलद्वारा प्रस्तुत 2076 /077 को प्रगति प्रतिवेदन र 2077/078को प्रस्तावित कार्यक्रम संशोधनसहित पारित गरिएको थियो ।

सम्मानित उपशाखाका सभापति रामदत्त पौडेलले लामो समयदेखि रेडक्रसमा लागेर कार्य गरेबापत जिल्लाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै दुम्सीकोट उपशाखाका सम्पूर्ण पदाधिकारी एवं साधारण सदस्यहरुलाई बिशेष धन्यवाद ब्यक्त गर्नुभएको थियो । उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स संचालन अभियानअन्तर्गत करिब 21 लाख संकलन भैसकेको र खरिद प्रक्रिया अन्तिम चरणमा भएकाले आगामी तीन महिना भित्रमा एम्बुलेन्स सञ्चालनमा आउने जानकारी गराउनुभएको थियो । महान अभियानमा सरिक भई पुण्य कार्यमा लाग्न सम्मानित सभापति रामदत्त पौडेलको आग्रह रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *