यसरी गर्नुहोस् नयाँ शैक्षिक सत्रबाट कक्षाकोठा ब्यवस्थापन

शिक्षा सञ्चार संवाददाता  |  २४ चैत्र २०७६, सोमबार  |    3743  Views

 हरेक वर्ष नयाँ शैक्षिकसत्र आउँछ शैक्षिक शत्रको सुरुवातमा शैक्षिक सुधारका बहसहरू निकै आउने गर्दछन र बिस्तारै क्रमशः दिनसँगै बहसहरुपनि सेलाउँदै जान्छन् । यस लेखमा हामी कक्षाकोठा ब्यबस्थापन को आधुनिक तरिका बारे चर्चा गर्दछौं । कक्षाकोठा व्यवस्थापन शैक्षणिक व्यवस्थापन अन्तर्गत पर्दछ ।

  • शैक्षिक व्यवस्थापन
  • शिक्षण सिकाइका लागि उपयुक्त वातावरणको व्यवस्था गर्नु शैक्षिक व्यवस्थापन हो । शैक्षिक ब्यबस्थापनले शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी र व्यवस्थित बनाउँदछ । पूर्व निर्धारित लक्ष्य वा उद्देश्य प्राप्तिका निम्ति आवश्यक पर्ने आर्थिक, भौतिक, मानवीय पक्षहरु सहित स्रोत र साधनलाई कुशल र प्रभावकारी रुपले व्यवस्थापन र परिचालन गर्ने कार्यलाई नै शैक्षिक व्यवस्थापन भनिन्छ ।  विद्यालय तथा कक्षाकोठाको वातावरण, विद्यार्र्थीको बसाई, शैक्षिक सामग्रीको व्यवस्थापन, सहयोगात्मक सिकाइ अवस्था आदिको उचित व्यवस्थापन शैक्षिक व्यवस्थापन हो । शैक्षिक ब्यबस्थापनमा मुख्य गरी मानवीय र भौतिक पक्ष पर्दछन । मानवश्रोत व्यवस्थापन अन्तर्गत शिक्षक, लेखापाल, विद्यालय कर्मचारी एवं विद्यार्र्थीहरु पर्दछन् ।  भौतिक व्यवस्थापन अन्तर्गत विद्यालय भवन, कक्षाकोठा, खेलमैदान, उपकरण, फर्निचर, पुस्तकालय, खानेपानी आदि पर्दछन् ।

  • विद्यालयमा गरिने शैक्षिक व्यवस्थापनका विविध पक्षहरूः
    • शिक्षक तथा कर्मचारी व्यवस्थापन
    • स्रोत साधनको ब्यवस्थापन (मानवीय र भौतिक)
    • सामग्रीहरूको व्यवस्थापन –भवन, पुस्तकालय, फर्निचर आदि)
    • पठन सामाग्रीको ब्यवस्थापन (पाठ्यक्रम, पाठ्यपुस्तक र स्रोत सामाग्री)
    • समय व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, विपत व्यवस्थापन,
    •  बजेट व्यवस्थापन
    • तालिम व्यवस्थापन
    • तनाव व्यवस्थापन आदि ।

    यसरी यी शैक्षिक व्यवस्थापनका लागि निश्चित कार्यहरु गर्नु पर्ने हुन्छ । व्यवस्थापनका कार्य अन्तर्गत योजना, संगठन, नेतृत्व, नियन्त्रण, सुपरिवेक्षण, समन्वय, संसाधनको व्यवस्थापन र बजेटिङ पर्दछन् ।

  • कक्षाकोठा व्यवस्थापनको अवधारणा
  • कक्षाकोठा व्यवस्थापनलाई शिक्षण सिकाइ क्रियाकलापको एक अभिन्न अङ्ग मानिन्छ । शिक्षण सिकाइ क्रियाकलाप संचालनको मुलथलो कक्षाकोठाको हो । शिक्षण सिकाइको प्रमुख कार्यथलो कक्षा कोठालाई व्यवस्थित गर्ने कार्य नै कक्षाकोठा व्यवस्थापन हो । जसअन्तर्गत कक्षाकोठाको भौतिक व्यवस्थापन मनोबैज्ञानीक व्यवस्थापन वातावरणीय पक्षको व्यवस्थापन र कक्षाकोठामा हुने विविधता व्यवस्थापन पर्दछन् ।

    पाठ्यक्रमले तोकेका उद्देश्यहरु प्राप्तिका लागि विविध क्रियाकलापहरु कक्षाकोठामा नै सञ्चालन गरिन्छ ।  त्यसैले शिक्षण सिकाइ कार्यकलाप प्रभावकारी हुनका लागि कक्षाकोठा व्यवस्थित हुनु जरुरी हुन्छ ।  अतः शिक्षण सिकाईका विविध कार्यकलापहरु प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि कक्षाकोठालाई सुव्यवस्थित पार्ने कार्य नै कक्षाकोठा व्यवस्थापन हो । पाठ्यक्रमका उद्देश्यहरु पूरा गर्नका लागि कक्षा कोठालाई आकर्षक, व्यवहारिक, बालमैत्री र मनोरञ्जननात्मक सिकाइ थलो बनाउने कार्य नै कक्षाकोठा व्यवस्थापन हो । कक्षाकोठा व्यवस्थापनले कक्षाकोठामा सिकाइको वातावरण सिर्जना गरी कक्षाकोठाभित्र शिक्षक र विद्यार्र्थीका विचमा गरिने पठनपाठनसँग सम्बन्धित समग्र क्रियाकलापहरुलाई प्रभावकारी बनाउने कार्य गर्दछ ।  कक्षाकोठा व्यवस्थापन भित्र भौतिक व्यवस्थापन, शैक्षिक सामग्रीको व्यवस्थापन तथा शिक्षण सिकाइ क्रियाकलापको व्यवस्थापन गरी मुख्यतया तीन पक्षको व्यवस्थापन पर्दछन् ।

  • कक्षाकोठा व्यवस्थापनको महत्व तथा आवश्यकता
  • कक्षाकोठा ब्यवस्थापनले शिक्षण सिकाई प्रक्रियालाई प्रभावकारी बनाई सिकाईका अपेक्षित उपलब्धिहरु हाँसिल गर्ने कार्यको सुनिश्चितता प्रदान गर्दछ । कक्षा कोठालाई सिकाईमैत्री, बालमैत्री तथा स्वच्छ सफा र आकर्शक बनाएर सिकाई केन्द्रित, ब्यवस्थित र विविधतापूर्ण र शिक्षण सिकाई सहजकारी बनाउनका लागि कक्षाकोठा व्यवस्थापनको निकै ठूलो महत्व रहेको हुन्छ । कक्षाकोठा व्यवस्थापन को महत्व तथा आवश्यकतालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः

    शिक्षण सिकाइलाई उद्देश्यमूलक व्यवहारिक अर्थपूर्ण र जीवन्त वनाउन सहयोग पुर्र्याउने,

    • सिकाइमा मनोबैज्ञानीक वातावरणको निर्माण गर्न,
    • कक्षाकोठामा उपयुक्त र आधुनिक तवरको सिकाइ वातावरणको निर्माण गर्न,
    • कक्षा कोठामा उपयुक्त हावा र प्रकाशको व्यवस्था गर्न साथै जाडो, गर्र्मी, हावा, हुरी, पानी होहल्ला आदिबाट बचाउन,
    • उपयुक्त स्रोत साधनको उच्चतम उपयोग गरी अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न,
    • विद्यार्र्थीलाई सिकाइप्रति उत्साहित गर्न र अनुशासित बनाउन,
    • कक्षाकोठामा उचित बसाई व्यवस्थापन गरी सामाजिकीकरणमा सहयोग गर्न,
    • बालबालिकालाई आफ्नो क्षमता, रुचि, चाहना र आवश्यकता अनुरुप सिक्ने अवसर प्रदान गर्न साथै बालकेन्द्रित वातावरण सिर्जना गनर्,
    • शिक्षक र विद्यार्र्थीबीचको शैक्षिक सम्बन्धलाई प्रगाढ बनाउन,
    • कक्षाकोठामा सबैखालका विद्यार्र्थीहरूको समान एवं समतामूलक सहभागिता गराई समावेशी वातावरणको सुनिश्चितता गर्न,
    • शिक्षक – विद्यार्र्थी, विद्यार्र्थी – विद्यार्र्थी अन्तरक्रियालाई प्रभावकारी बनाउन,
    • शिक्षण सामग्रीको प्रभावकारी उपयोग गर्न र तिनको सुरक्षा गर्न,
    • निरन्तर मूल्याङ्कन र पृष्ठपोषण एवं अभिलेखीकरणलाई प्रभावकारी बनाउन,
    • विद्यार्र्थीमा स्व–सिकाई, सामूहिक सिकाइ संस्कारको विकास गर्न ।

    कक्षाकोठा व्यवस्थापनको आधुनिक अवधारणा

    कक्षामा कडा अनुशासनमा राखेर शिक्षक केन्द्रित विधिको प्रयोग गरि विद्यार्थीले ध्यान पूर्वक सुन्ने वातावण सृजना गर्नु परम्परागत  धारणा अनुसारको कक्षाकोठा व्यवस्थापन हो । शिक्षण सिकाईको विधि प्रक्रियामा परिवर्तन, सूचनाप्रविधिको प्रयोग भएसंग कक्षाकोठाको अवधारणामा पनि परिवर्तन आएको छ । कक्षाकोठा व्यवस्थापनको आधुनिक अवधारणामा भौतिक ब्यवस्थापन मात्र नहेरी विद्यार्थीको रुथि, क्षमता, आवश्यकता, विद्यार्थी विविधताको ख्याल गरी सूचना प्रविधिका सामाग्रीहरुमा समेत जोड दिईन्छ । अतः आधुनिक विधि र प्रविधि अनुकूल वातावरण सिर्जना गर्दै प्रविधिमैत्री, बालमैत्री र विद्यार्र्थी केन्द्रित बिधिको प्रयोग गरी कक्षाकोठालाई व्यवस्थापन गर्नु नै आधुनिक कक्षाकोठा व्यवस्थापनको अवधारणा हो ।

    आधुनिक कक्षाकोठा व्यवस्थापन अन्तर्गत निम्न कुराहरु को व्यवस्थापन गर्नुपर्ने हुन्छः

     

  • भौतिक ब्यवस्थापन–
    • विद्यालय भवन तथा कक्षाकोठा झ्याल, ढोका, भुई, भित्ता, हावा, प्रकाश, तापक्रम
    • डेक्स, बेन्च, टेवल आदि फर्निचर, पिउनेपानी डस्विन
    • शौचालय, खेलमैदान
    • शैक्षिक सामग्री राख्ने दराज, र्याक टास्ने ठाँउ, प्रदर्शन गर्ने ठाउँ टेवल आदिको व्यवस्थापन ।

    बसाइँ व्यवस्थापन–

    • दैनिक बसाइ व्यवस्थापन
    • समूह कार्य बसाइ व्यवस्थापन
    • फर्निचरको रखाईको ब्यबस्थापन
    • विभिन्न आकारको बसाइ व्यवस्थापन (यू, लम्बिय आयाताकार, मिश्रित, अर्धगोलाकार) विद्यार्र्थीको उमेर अनुसार, शारीरिक अवस्था अनुसारको बसाइँ ब्यवस्थापन

    कक्षाकोठाको सरसफाइको व्यवस्थापन–

    • कक्षाकोठाको दैनिक सरसफाई गर्ने (पुछ्ने पोत्ने )
    • भित्ताहरुमा रङ्ग लगाउने

    कक्षाकोठाको सजावटको व्यवस्थापन–

    • कक्षाकोठाको भित्ता र सिलिङ्को सजावट
    • विभिन्न उद्गार वा भनाई, चार्ट, नक्सा
    • शैक्षिक सामग्री कर्नर, पुस्तक कर्नर
    • विद्यार्थ निर्मित र शिक्षक निर्मित विषयगत सामाग्रीहरु

    मनोबैज्ञानिक वातावरणको ब्यवस्थापन–

    • विद्यार्र्थी उत्प्रेरणा, पुनर्वत र परामर्श
    • डर, त्रास, भय, झगडा आदिको निवारण
    • असल ब्यवहार र सकारात्मक विभेद
    • अपाङ्गता र ढिलो सिक्ने सिकारुको व्यवस्थापन
    • विवाद, तनाव, संवेग व्यवस्थापन
    • विविधताको व्यवस्थापन

    शिक्षण सिकाइको व्यवस्थापन–

    • आधुनिक शिक्षण सिकाइ क्रियाकलापको सञ्चालन
    • बालकेन्द्रित सिकाई रणनीतिको प्रयोग
    • शैक्षिक संगठनको व्यवस्थापन (कक्षा शिक्षण, विषय शिक्षण, कक्षा शिक्षण, बहुकक्षा बहुस्तर शिक्षण)
    • शैक्षिक योजना निर्माण, कार्यान्वयन र कक्षा सञ्चालन
    • समूह कार्यको व्यवस्थापन र सामूहिक प्रस्तुतीकरणको व्यवस्थापन
    • निरन्तर मूल्यांकन, पृष्ठपोषण, सबलीकरण, पुरस्कार आदिको व्यवस्थापन
    • शैक्षिक सामग्री संकलन निर्माण प्रयोग र रखाई आदि ।

    अभिलेख व्यवस्थापन–

    • विद्यार्र्थीको अनियमिताको अभिलेख
    • विद्यार्र्थीको अतिरिक्त क्रियाकलाप एवं नियमित क्रियाकलापमा सहभागिताको अभिलेख
    • विद्यार्र्थीले गरेका महत्वपूर्ण कार्यहरुको अभिलेख
    • विद्यार्र्थी मूल्याङ्कनको अभिलेख
    • विद्यार्र्थीले गरेका प्रगतिको अभिलेख

    विविधताको व्यवस्थापन –

    • कक्षाकोठामा भाषिक विविधता व्यवस्थापन
    • कक्षाकोठामा लैंगिक विविधता व्यवस्थापन
    • कक्षाकोठामा अपाङ्ग विविधता व्यवस्थापन
    • कक्षाकोठामा आर्थिक विविधता व्यवस्थापन
    • कक्षाकोठामा जाति धर्म सामाजिक एवं सांस्कृतिक विविधता व्यवस्थापन

    विद्यार्थीको कार्यविवरण ब्यवस्थापन–

    • विद्यार्थीको विचमा कार्यविभाजन र जिम्मेवारी
    • नेतृत्वको अवसर प्रदान (मोनिटर,रेडक्रस, स्काउट, बालक्लव, विज्ञान क्लब आदि)
    • समूहमा कार्य गर्ने अवसर आपसी समझदारीमा निर्माण

    यसरी उल्लेखित व्यवस्थापनका तरिकाहरु अपनाएर आधुनिक रुपमा कक्षाकोठाको व्यवस्थापन गर्न सकेमात्र शिक्षण सिकाई प्रभावकारी हुन्छ । वर्तमान परिवेशमा विद्यालयको नेतृत्व लिने व्यक्तिहरु आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई ख्यालै नगरी दीर्घकालीन सोच र आधुनिक सोच र तरिका भन्दा परंपरागत रुपमा आफ्ना कार्यशैलीहरु अगाडि बढाउँदा राज्यले सोचेअनुरुपको शिक्षा पनि अगाडि बढ्न नसकेको कुरामा कुनै दुई मत छैन । अतः समग्र शिक्षाको रुपान्तरणमा यी प्रयासहरुलाई अंगीकार गरी अगाडि बढ्नुपर्ने देखिन्छ ।

  • One Comment


      Warning: call_user_func() expects parameter 1 to be a valid callback, function 'athemes_comment' not found or invalid function name in /home/teducationsanvin/public_html/wp-includes/class-walker-comment.php on line 179

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *